यी हुन् ठग म्यानपावरहरू

२०७२ माघ २ गते, शनिबार

काठमाडौँ । वैदेशिक रोजगार विभागमा म्यानपावरहरूले ठगि गरेको उजुरीको चाङ लागेको छ । म्यानपावरहरूले सरकारले तोकेभन्दा बढी रकम असुलेको र निःशुल्क भिसा, टिकट लागू भएपछि पनि अनियमित तवरले रकम असुली नरोकिएको भन्दै कामदारहरूले विभागमा ठगीको उजुरी गरेका हुन् । वैदेशिक रोजगार विभागले अनुगमनलार्ई तीव्र बनाइरहँदा उजुरी पनि बढिरहेका छन् । विभागले साउनदेखि पुससम्म सय वटाभन्दा बढी म्यानपावरहरूमा अनुगमन गरिसकेको छ । तर, विभागले बढी रकम असुली गरेको प्रमाण कुनै पनि म्यानपावरबाट भेटिएको सार्वजनिक गरेको भने छैन । तर, कामदारले विभागमा दिनदिनै व्यवसायीले बढी रकम असुलेको उजुरी दिइरहेका छन् । ठगीमा परेका कामदार प्रायः ७० हजारभन्दा बढी नै ठगिएर विभागमा पुग्ने गरेको भेटिएको छ । अनुगमन भएका म्यानपावरहरूको कागजजात अनुसन्धान भइरहेको विभागले बताएको छ । उता फ्रि भिसा फ्रि टिकट लागू गर्नेलगायत सुधार कार्ययोजनासहित श्रम तथा रोजगार मन्त्रालयले सय दिने कार्ययोजना प्रस्तुत गरिसकेको छ ।
वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी उजुरी परेका म्यानपावरहरूको विवरण यस प्रकार रहेको छ – युनिभर्सल इन्टरनेशल प्रालि, जुगल इन्टरनेशनल प्रालि, जानकी ओभरसिज प्रालि, वल्र्डभ्यू इन्टरनेशनल प्रालि, रिजेन्ट फ्रम म्यानपावर प्रालि, दिवान इन्टरनेशनल प्रालि, सन्ता इन्टरनेशनल प्रालि, द रिभर ओभरसिज प्रालि, माँ पद्मा ओभरसिज प्रालि, अल्फा ओभरसिज प्रालि रहेका छन । यी म्यानपावरहरूले सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै रकम फिर्ता गरी पाउँ भनी वैदेशिक रोजगार विभागमा उजुरीहरू परेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]