शान्तिमन्त्री ढकाललाई बर्खास्त गर्न माग
काठमाडौं, २१ माघ । हिन्दू युवा जनशक्ति संघ नेपालले क्रिष्चियन धर्मको प्रचार गर्ने शान्तिमन्त्री एकनाथ ढकाललाई कारवाही गर्न माग गरेको छ । संघका अध्यक्ष विकास कुमार ठाकुरद्धारा आज जारी गरिएको विज्ञप्तिमा क्रिष्चियन धर्मको प्रचार गर्ने शान्तिमन्त्री एकनाथ ढकाललाई बर्खास्त गरी कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ- ‘शान्तिमन्त्री एकनाथ ढकालले क्रिष्चियन धर्मको प्रचारका लागि आफ्नो निजी एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट सांसदसहित २० जनाको टोली दक्षिण कोरियाको भ्रमणमा लैजान खोजेको घटनाप्रति हिन्दु युवा जनशक्ति संघ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संघले नेपाल सरकारका मन्त्री ढकालले सांसदहरूको टोलीलाई विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रचार एवं प्रवद्र्धन गर्ने उद्देश्यले विदेश लैजान खोजेको योजना अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र दण्डनीय रहेको ठहर गर्दै यसप्रकारको हर्कतप्रति घोर आपत्ति समेत जनाएको छ ।
संघले अगाडि भनेको छ– यसअघि पनि ढकालले क्रिष्चियन धर्मको प्रचार प्रसारका लागि देशका विभिन्न नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको, मन्त्रालयमै क्रिष्चियन धर्म गुरुहरुसँग गोप्य भेटभाट गर्ने गरेको र मन्त्रालयको काम कारबाही भन्दा पनि हिन्दू धर्मावलम्बीको धर्म परिवर्तन गराउन क्रिष्चियन धर्मको प्रचारमा सक्रिय रहेको पाइएको छ । मन्त्री पदमा बहाल रहेकै बेला क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले यसरी क्रिष्चियन धर्मको खुलेर प्रचारमा लाग्नु गैरकानूनी तथा दण्डनीय कार्य भएकोले ढकाललाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’
मन्त्री ढकालको पहलमा क्रिष्चियन धर्मको प्रचारका लागि सांसदसहितको टोली कोरिया जान लागेको समाचार आजमात्रै प्रकाशित भएको थियो ।