सार्वजनिक गाडीको भाडा घटाउने तयारी
काठमाडौं, २२ माघ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटेसगै सार्वजनिक गाडीको भाडा घटाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको भाउ घटेकाले त्यसै अनुसार सार्वजनिक गाडीको भाडा समायोजन गर्न लागिएको जनाएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार भाडा समायोजन गर्न यातायात मन्त्रालयलाई बिहीबार नै घटेको भाडाको दर रेट पेश गरिसकिएको छ । अब मन्त्रालय निर्णय गरे लगत्तै घटेको भाडा लागु हुने उनले बताए । तर भाडा घटेपनि यात्रुलाई भने खासै राहत नमिल्ने देखिएको छ ।
सरकारले घटाउन लागेको भाडादर अनुसार काठमाडौं उपत्यकामा भाडा समायोजन हुने छैन । लामो दूरीमा भने एक सय किलोमिटरमा अहिले तिर्दै आएको भाडामा ५ रुपैयाँले मात्र घट्नेछ । पछिल्लो पटक घटेको पेट्रोलियम पदार्थको मूल्य अनुसार वैज्ञानिक भाडादर कायम गर्दा उपत्यकामा न्युनतम भाडा १३ रुपैयाँ ७ पैसा निस्केकाले यात्रुले १३ रुपैयाँले तिर्नु पर्ने विभागले जनाएको छ ।
विभागका अनुसार सार्वजनिक गाडी बाहेक अरु ट्रक, ट्रिपर लगायत ढुवानीका साधनमा पनि भाडा घट्ने छ । हिजो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भाडा घटाउन विभागलाई निर्देशन दिएको थियो ।