केही प्रहरीका कारण संगठनकै बदनामः अर्याल
काठमाडौं, २३ माघ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही प्रहरीले सङ्गठनलाई बदनामी गराएको भन्दै एक, दुई जनाका कारण सङ्गठनलाई त्यो रुपमा नहेर्न आग्रह गरेका छन । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित चौँथो वृहत रक्तदान तथा नवनिर्मित प्रहरी परिवार आवास गृहको उद्घाटन गर्दै उनले चितवन, काठमाडाँैं र ललितपुरमा प्रहरीका निरीक्षक र प्रहरी नायब उपरीक्षकबाट भएका क्रियाकलापप्रति दुःख व्यक्त गरे ।
तालिम केन्द्रले सङ्गठनमा असल प्रहरी उत्पादन गर्ने भन्दै उनले यस खालका क्रियाकलाप न्यूनीकरण गर्ने तर्फ सङ्गठन लागिपर्ने बताए । महानिरीक्षक अर्यालले प्रहरीलाई ज्ञान र सीपसँगै व्यवहार र विचारमा पनि परिवर्तन गराउन आवश्यक भएको बताए । प्रहरी परिवार आवास गृह रु ४० लाखको लागतमा निर्माण गरिएको हो ।
कार्यक्रममा महानिरीक्षक अर्यालले संरक्षण गरिएका बालबालिकालाई लत्ताकपडा वितरण गरेका थिए भने चेपाङ बालबालिकालाई आर्थिक सहयोग तथा कपडा वितरण गरेका थिए । सो अवसरमा अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले निजी क्षेत्र र प्रहरीको साझेदारी बिना समाजमा हुने अपराध नियन्त्रण गर्न नसकिने भन्दै त्यसका लागि प्रहरीलाई सधँैं जनताको साथ चाहिने बताए ।