भारतबाट ८० मेगावाट विद्युत् भित्र्याइदै
काठमाडौं, ४ फागुन । नेपाल–भारतबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणले सफल भएको छ । ४ सय केभीको प्रसारणलाइनमध्ये १ सय ३२ केभी भोल्टेजस्तरमा चार्ज भएपछि भारतबाट थप ८० मेगावाट विद्युत् आयात हुने भएको छ । ढल्केवर–मुजफ्फरपु अन्तर्देशीय प्रसारणलाइनबाट ८० मेगावाट विद्युत् आयात गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र भारत सरकारले तोकेको नोडल एजेन्सी विद्युत् व्यापार निगमबीच सोमबार उर्जा मन्त्रालयमा सम्झौता भएको हो । पहिलो चरणमा चार्ज हुने १३२ केभी भोल्टेजमा उक्त प्रसारणलाइनबाट यहि विहीबारभित्र ८० मेगावाट विद्युत् आयात हुनेछ । भारतबाट आयात हुने ८० मेगावाट विद्युत्को खरिद मूल्य प्रतियुनिट ७ रुपैयाँ ४ पैसा पर्ने प्राधिकरणले जनाएको छ । यो खरिद मूल्य आगामी ४ महिनाका लागि हुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले बताए । १ सय ४० किलोमिटर लामो प्रसारणलाइनबाट विद्युत् आयात हुँदा हालको विद्युत् अभावमा केहि मद्दत पु¥याउने उर्जा मन्त्रालयका सचिव सुमन शर्माले बताए ।
४ सय केभी प्रसारणलाइन निर्माण सम्पन्नपछि १ हजार २ सयसम्म विद्युत् आयात–निर्यात गर्न सकिन्छ । यो सम्झौताले २०१४ अक्टोबर २१ मा नेपाल–भारतबीच सम्पन्न विद्युत् व्यापार सम्झौताको क्रियाशीलतासमेत भएको प्राधिकरणले जनाएको छ ।