प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्तै सफल हुन्छ : रे

२०७२ फाल्गुन ५ गते, बुधबार

काठमाडौं, ५ फागुन । नेपाल लागि भारतीय राजदूत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने र दुई देशको सम्वन्ध अझ प्रगाढ हुने दावी गरेका छन् । उनले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको बताए । दुई मुलुकबीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको रेको भनाई छ । उनले भने, ‘पछिल्लो समयमा नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको ओलीको भ्रमणले यो असहज परिस्थितिको अन्त्य गर्छ । उहाँको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ । हामी यसबाट खुसी छौ । भ्रमण सफल हुन्छ, फलदायी हुन्छ । दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’ राजदुत रेले यो भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा सशक्त सन्देश दिने भन्दै हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भूकम्प पछिको पुनर्निर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौ ।’ नयाँ दिल्ली र मुम्बइमा आर्थिक क्षेत्रसँग ओलीको अन्तरक्रिया हुने जानकारी दिँदै उनले दुई देशको सम्बन्ध आर्थिक विकास र साझेदारीमा केन्द्रीत भए दुबैको हित हुने बताए । नेपाल र भारतबीच सम्वन्धमा अलि अलि समस्या आउनु स्वभाविक भएको रेको भनाई छ । उनले सम्बन्धको आधार सकारात्मक भएकोले यसलाई आफूहरु अझै बलियो बनाउने पक्षमा रहेको बताए । राजदूत रेले प्रधानमन्त्रीको भ्रमणको क्रममा पुनर्निर्माणको विषयमा ठोस धारणा आउने, सीमा सुरक्षा लगायतका विषयलाई कानूनी रुप दिने विषयमा छलफल हुने भन्दै सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारी र सुरक्षा प्रमुखबीच भरहेको छलफल सकारात्मक भएको र पछिल्लो समयमा बढेको तस्करी आपूर्ति सहज भएपछि आफै अन्त्य भएर जाने दावी गरे । उनले नेपालले गठन गरेजस्तै प्रवुद्ध समूह भारतले पनि छिट्टै गठन गर्ने जानकारी दिए । त्यसले दुई मुलुकब्ीच कायम रहँदै आएका समस्यालाई संबादबाट सकारात्मक दिशामा अघि बढाउने रेले बताए । नेपालमा प्रदेशहरुको पुनःसीमाङकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको बताउँदै उनले नेपालले आन्तरिक समस्या सम्वादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए । यद्यपि यी विषय नेपालको आन्तरिक मामिला भएको रेको भनाई थियो ।
यसैगरी सोहि कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपाल भारतबीच पौराणिककाल देखिको सम्बन्धलाई पूरानै अवस्थामा फर्काउन सहज बातावरण बनेको भन्दै प्रधानमन्त्रीको भ्रमणको क्रममा कटुताहरु बिर्सिएर सकारात्मक बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको भ्रमण दुई मुलुकबीचको सम्बन्ध सुधारको जग बन्नुपर्छ । डा. थापाले नेपालको राजनीतिलाई समाधान गर्न टोवा दिनु पर्नेमा भारतले अमैत्रिक काम गरेको भन्दै अहिले सम्बन्धमा नयाँ आयाम थप्ने चुनौति रहेको बताए भने परराष्ट्रविद्ध डा. राजन भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमण दुई मुलुकबीच उत्पन्न असहजताको कारण र ग्याप पूर्ति गरेर सम्बन्धलाई हिजोको जस्तो मात्रै होइन नयाँ ढंगले अगाडि बढाउने विषयमा केन्द्रीत हुने बताए । उनले भने, ‘भ्रमणले जनता र मुलुकको हितको प्रर्वद्धन र समस्याको अन्त्य गर्छ । मुलुकलाई आर्थिक विकासको बाटोमा लैजान छिमेकीको सहयोग अरु भन्दा महत्वपूर्ण हुन्छ । हामी स्पष्ट योजनाका साथ जानुपर्छ । ’ भट्टराईले काम सुरु भएर सम्पन्न नभइसकेका आयोजना पूरा गर्ने, सुरु नभएको आयोजना सुरु गर्ने, जलस्रोतको विकासमा साझेदारी र भौतिक संरचना निर्माणमा साझेदारीको विषयमा भ्रमणमा कुरा हुने भन्दै पुनःनिर्माणमा भारतीय सहयोगलाई अन्तिम रुप दिने बताए ।

यसैगरी , परराष्ट्रविद्ध डा. दिनेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव कायम र आपसी विश्वास स्थापना गर्नेमा केन्द्रीत हुनुपर्ने भन्दै दुई मुलुकबीच कायम रहेको समस्यालाई स्पष्ट राख्नुपर्ने सुझाव दिए । उनले परराष्ट्र नीतिको विषयलाई व्यक्तिगत इगोको विषय बनाउन नहुने भन्दै भ्रमणमा विगतका सम्झौताको सिघ्र कार्यान्वयनमा केन्द्रीत गर्नुपर्ने बताए । भट्टराईले भने, ‘महाकाली सन्धी गराउन अहिलेकै प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्नु भएको हो । यसको कार्यान्वयनमा जोड दिनुपर्छ । नेपाल भारत सम्बन्ध प्राकृतिकको हो । त्यसैले यो सहज हुनुपर्छ ।’

प्रतिक्रियाहरु

[anycomment]