सात युवती विमानस्थलबाटै गायब
काठमाडौं, ९ फागुन । श्रीलंकाको अध्यागमनले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलोमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो ।
विमानस्थलबाटै फरार हुनेमा लविन तामाङ, कमला तामाङ, मिङ्मार तामाङ, तेम्बासाङ्मु तामाङ, नगिज्योक तामाङ, छिरिङ शेर्पा र कमला तामाङ छन् । उनीहरू दोलखा र सिन्धुपाल्चोकका बासिन्दा हुन् ।
ती युवती किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन । यसअघि अवैध रूपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमनलाई जबाफ दिएका थिए । विक फरार भएको बारे अनुसन्धान गर्न अध्यागमन विभागले छानबिन समिति बनाएको छ ।
ती सात युवती भगाउन कसको संलग्नता छ भन्नेबारे गृह मन्त्रालयले छानबिन थाल्न अध्यागमन विभागलाई निर्देशन दिएको स्रोतले बतायो । अध्यागमन कार्यालयलाई बुझाउन ल्याउँदै गर्दा उनीहरू फरार भएको दाबी इन्डियन एयरलाइन्सका कर्मचारीले गरे पनि ती युवतीलाई भगाउन सोही एयरलाइन्सका कर्मचारीको मिलोमतो रहेको स्रोतले बताएको छ । त्यस विषयमा विमानस्थल प्रहरी र अध्यागमन विभागले अनुसन्धान अघि बढाइसकेका छन् ।
ती युवती फरार भएको र देखिएको सुरक्षा लापरबाहीबारे शनिबार विमानस्थलमा बैठक पनि बसेको छ । बैठकमा गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख यादवप्रसाद कोइराला, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने, विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौला, विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो ।
बैठकले ती युवती भगाउन मुख्य भूमिका एन्डियन एयरलाइन्सका कर्मचारीको रहेको भन्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको स्रोतले बतायो । इन्डियन एयरलाइन्सले पटकपटक युवती भगाउन थालेपछि उक्त एयरलाइन्सलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको हो । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो ।
कुनै पनि मुलुकका अध्यागमनले यात्रामा शंका लागेर फर्काएका यात्रुलाई सोही विमान कम्पनीले राहदानीसहित सम्बन्धित मुलुकको अध्यागमन कार्यालयलाई बुझाउनुपर्ने प्रावधान छ । तर इन्डियन एयरलाइन्सले श्रीलंकाबाट फर्काइएका ७ युवतीका राहदानीमात्र अध्यागमन कार्यालयमा बुझाएको छ ।
अध्यागमन विभागका महानिर्देशक न्यौपानेले अन्नपूर्णसँग भने, ‘सात युवती भागेका हुन् वा भगाइएका हुन्, त्यसबारे अनुसन्धान भइरहेको छ । न्यौपानेले इन्डियन एयरलाइन्सका कर्मचारीलाई समेत छानबिनको दायरामा ल्याएर सोधपुछ गर्ने बताए ।
श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जाने प्रयासस्वरूप उनीहरू त्यसतर्फ गएको हुनसक्ने स्रोतले बतायो । नेपाल सरकारले घरेलु कामदारका लागि कुवेत जान कडाइ गरेपछि विभिन्न दलालमार्फत अवैध ढंगले कुवेत जाने क्रम बढिरहेको छ ।
बिनाप्रयोजन श्रीलंका छिर्न लागेका नेपाली युवतीको यात्रा शंकास्पद लागेपछि त्यहाँको अध्यागमनले फर्काएको थियो । इन्डियन एयरलाइन्सबाट श्रीलंका गएका उनीहरूलाई त्यहाँको अध्यागमनले सोही जहाजबाट फर्काए पनि उक्त एयरलाइन्सका कर्मचारीले त्रिभुवन विमानस्थलस्थित अध्यागमनलाई बुझाएनन् । विमानस्थल अध्यागमन कार्यालयले युवतीहरूबिना राहदानी नबुझ्ने अडान लिएपछि विमानस्थल प्रहरीको रोहबरमा अध्यागमन कार्यालयले राहदानी जिम्मा लिएको थियो । एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयमा बुझाउन ल्याउँदै गर्दा सातैजना युवती भागेको हास्यास्पद जबाफ दिएका छन् । – शम्भु कट्टेल, अन्नपूर्ण पोष्ट दैनिकबाट