फागुन २० र २१ गते भिटामिन ए खुवाईने
काठमाडौं, ९ फागुन । बाल स्वास्थ्य महाशाखाले आगामी फागुन २० र २१ गते देशभरी नै ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाईने बताएको छ । महाशाखाले काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७३ सालको वैशाख ६ र ७ गते खुवाईने भिटामिन ए कार्यक्रमलाई सारेर यही फागुन २० र २१ गते खुवाउने जनाएको हो । पोषण शाखाका प्रमुख गिरीराज सुवेदीले चैत २२ गते देखि असार १६ गतेसम्म नेपालको ७३ जिल्लामा राष्ट्रिय सूक्ष्म पोषण तत्व सर्वेक्षण गर्न लागेकाले भिटामिन ए खुवाउने कार्यक्रम अघि सारेको बताए । भिटामिन ए खुवाएको १ महिनापछि बालबालिकाको रगत परिक्षण गरी उनीहरुको शरीरमा भिटामिन ए, आयोडिन, आइरन कति मात्रामा छ भनी जानकारी लिन सर्वेक्षण गर्न लागेको पनि उनले जानकारी दिए ।
बाल स्वास्थ्य महाशाखाले गर्न लागेको सर्वेक्षण नेपालको ७३ जिल्लाका चार हजार तीन सय घरधुरीमा गरिने छ । ६ देखि ५९ महिनासम्मका बालबालिका, ६ देखि ९ बर्षसम्मका बालबालिका, १० देखि १९ बर्षसम्मको किशोरकिशोरी र १५ देखि ४९ वर्षसम्मका बच्चा जन्माउन सक्ने क्षमता भएका महिला र गर्भवती महिलामा यो सर्वेक्षण गर्न लागेको बाल स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । कम जनसंख्या भएका कारण सर्वेक्षणमा रसुवा र जुम्ला जिल्लालाई समावेश नगरिएको महाशाखाले जानकारी दिएको छ ।