पाकेका सुन्तला बोटमै थन्किए
काठमाडौं, १४ फागुन । उत्तरी पर्वतको बाँसखर्कमा सुन्तला खरिद गर्नका लागि व्यापारी गाउँमा नपुगेपछि पाकेका सुन्तला बोटमै थन्किएका छन । बाँसखर्कका किसानले आफ्नो खेत तथा पाखोबारीमा लगाएको सुन्तला पाकेपछि उनीहरुले बोटबाटै व्यापारीहरुलाई बिक्री गर्ने गर्दछन् । यसवर्ष बाँसखर्कका सुन्तला पोखरा, धादिङ र नवलपरासीका बजारसम्म पुर्याइएको छ ।
पोखरा र धादिङका केही व्यापारीले बोटबाटै खरिद गरेर सुन्तला लगे पनि अझै केही बाँकी रहेको स्थानीय किसानहरु बताउँछन् । यहाँका किसानले प्रति क्यारेट सुन्तला एकहजार ८ सय देखि दुईहजार एकसय रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।
विगतको तुलनामा यसवर्ष सुन्तला कम फले पनि किसानले राम्रो मूल्य पाएकाले मनग्य आम्दानी गर्न सफल भएको अधिकांश किसानको भनाइ छ । बाँसखर्क गाविसको ९ नम्बर वडाबाहेकका सबै वडाका किसानले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् ।