पूर्व राज्यमन्त्रीलाई दुई हजार जरिवाना

२०७२ फाल्गुन १५ गते, शनिबार

काठमाडौं, १४ फागुन । तत्कालीन कृषिराज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले रु दुई हजार जरिवाना गरेको छ । पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेको अभियोगमा उनलाई सो जरिवाना भएको हो । वीरगन्ज आउँदा सिमरा विमानस्थलमा पुरानो गाडी उपलब्ध गराइएको विषयलाई लिएर तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि राज्यमन्त्री बेगमले २०६६ साल कात्तिक २४ गते कार्यकक्षमा हातपात गरेकी थीइन । प्रमुख जिल्ला अधिकारी माथि हातपात गरेको अभियोगमा कृषिराज्यमन्त्री बेगमविरुद्ध प्रमुख जिल्ला अधिकारी भण्डारीका सुरक्षागार्ड (अङ्गरक्षक) ले मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजालसले गतबिहीबार पूर्वराज्यमन्त्री बेगमलाई रु दुई हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत पर्साले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]