विराटनगरमा एमालेको बृहत् आमसभाको तयारी
काठमाडौ, २१ फागुन । नेकपा एमालेले सञ्चालन गरेको तीन महिने जागरण एवम् पार्टी सुदृढीकरण अभियानको समापनका अवसरमा विराटनगरमा बृहत् आमसभाको तयारी तीव्र तुल्याइएको छ । नेकपा एमाले पूर्वाञ्चलको आयोजना तथा मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा शनिबार हुने आमसभामा पूर्वका जिल्लाबाट एक लाखभन्दा बढी कार्यकर्ता उतार्ने एमालेको दाबी छ । एमाले सचिव एवम् पूर्वाञ्चल संयोजक भीमप्रसाद आचार्यका अनुसार पूर्वका जिल्लाबाट कार्यकर्ता ओसार्न प्रयोग गरिने बसको व्यवस्था, प्रचारप्रसारलगायतका काम तीव्र रुपमा भइरहेको छ ।
आमसभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीलाई सिर्जनात्मक र समयानुकूल परिमार्जन गर्न कार्यकर्तालाई प्रशिक्षण र संविधानको अन्तरवस्तु प्रस्ट्याउँदै नेपालमा विधिको शासन स्थापित गर्नेसमेतको सन्देशका लागि भन्दै एमालेले अभियान थालेको छ ।
अभियानको पूर्वाञ्चल क्षेत्रको समापन विराटनगरको सहिद रङ्गशालामा हुनेछ । एमाले मोरङ अध्यक्ष महेश रेग्मीका अनुसार मोरङबाट मात्रै ६० हजार कार्यकर्ता सहभागी गराइने योजनामा वडा, गाउँ, नगर र क्षेत्रबाट तयारी भइरहेको छ ।
मोरङको निर्वाचन क्षेत्र नं १ बाट तीन हजार, २ बाट चार हजार, ३ बाट साढे तीन हजार, ४ बाट तीन हजार, ५ बाट छ हजार, ६ बाट १० हजार, ७ बाट आठ हजार तथा ८ र ९ बाट पाँच/पाँच हजार कार्यकर्ता सहभागी गराउने तयारी भइरहेको बताइएको छ ।
त्यस्तै, महिला सङ्घबाट पाँच हजार, युवा सङ्घबाट दुई हजार, विद्यार्थीबाट एक हजार, पेसागत क्षेत्रबाट तीन हजार र अन्य साढे तीन हजार कार्यकर्ताको सहभागिताको योजना तर्जुमा गरिएको एमाले मोरङले जनाएको छ । – रासस