उपत्यकामा दैनिक १५ दुर्घटना
काठमाडौ, २२ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १ देखि २० फागुनसम्म उपत्यकामा तीन सय ८१ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १७ को मृत्यु, ११ जना गम्भीर घाइते तथा दुई सय २२ जना घाइते भएको महाशाखाको तथ्यांक छ।
फागुनको दुर्घटनामा मृत्यु भएको तथ्यांक अघिल्ला महिनाको भन्दा दोब्बर हो। पुस र माघमा उपत्यकामा आठ–आठजनाको मृत्यु भएको थियो। महाशाखाका अनुसार साउनयताको तथ्यांकले उपत्यकामा दैनिक करिब १५ दुर्घटना हुने गरेको देखाएको छ। साउनमा चार सय ९५ दुर्घटना र १६ को मृत्यु, भदौमा चार सय ४८ को दुर्घटना र १६ को मृत्यु भएको थियो।
असोजमा तीन सय २८ दुर्घटना र १३ को मृत्यु, कात्तिकमा दुई सय ५३ दुर्घटना र आठको मृत्यु भएको महाशाखाले जनाएको छ। मंसिरमा तीन सय ५४ दुर्घटना र १८ को मृत्यु, पुसमा चार सय २१ दुर्घटना र आठको मृत्यु, माघमा चार सय ५० दुर्घटना र आठजनाको मृत्यु भएको थियो।
ट्राफिक प्रहरीका अनुसार करिब ९० प्रतिशत कारण चालकको लापरबाही छ। १ साउनदेखि २० फागुनसम्म भएका दुई हजार सात सय ४९ दुर्घटनामध्ये दुई हजार पाँच सय १८ दुर्घटना चालकको लापरबाहीले भएको प्रहरी तथ्यांक छ । यो अवधिमा एक सय ६ दुर्घटना मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, ४४ वटा यान्त्रिक गडबडी र ३६ वटा तीव्र गतिले भएका हुन्। – नयाँ पत्रिका दैनिकवाट