रित्तिदै ओलाङ्चुङ्गोला
काठमाडौं, २९ फागुन । चीनसँंग सिमाना जोडिएको ताप्लेजुङको उत्तरी गाविस ओलाङ्चुङ्गोलाका स्थानिय बसाई सरेर अन्यत्र जाने क्रम बढ्न थालेको छ ।
चीनसंगको व्यापारिक नाका भए पनि यस स्थानका बासिन्दाको स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातमा सरकारले प्राथमिकता नदिंँदा बसाई सरेर अन्यत्र जाने क्रम बढेको हो । शेर्पा समुदायका ६१ परिवारको मात्र बसोबास रहेको यस गाविसबाट पछिल्लो दुई वर्षमा २२ परिवार बसाई सरेका छन् । ओलाङ्चुङ्गोलाबासी खाद्यान्नका लागि चीनको तिब्बत गएर ढाकरमा बोकेर ल्याउनुपर्ने बाध्यतामा छन् ।
वर्षको ६ महिना हिउँ पर्ने भएपछि ६ महिनामा एक वर्षका लागि खाद्यान्नको जोहो गर्नु उनीहरुको बाध्यता छ । एउटा प्राथमिक विद्यालय र स्वास्थ्य चौकी रहे पनि शिक्षक र अहेव नबस्दा विद्यार्थी शिक्षाको पहुँचबाट र स्थानीय स्वास्थ्यको पहुँचबाट बन्चित छन् । यस स्थानमा सरकारले भन्सार कार्यालय राखे पनि कर्मचारी नहँदा कार्यालय बन्द छ । दुई दिन अघिमात्र ओलाङ्चुङगोलाबासीले तिब्बतसम्मको दुरी १९ किलोमिटर मात्र रहेकोले मोटरबाटो खन्ने मेसिनको व्यवस्था गरीदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । मोटरबाटो आलाङचुङगोलासम्म पुगे बसाई सराइको क्रम रोकिने र यस क्षेत्रलाई व्यापारिक क्षेत्रको रुपमा विकास गर्न सकिने स्थानीयको भनाई छ ।