श्रीमानलाई मोटे भन्दा …
काठमाडौं, १६ चैत । श्रीमान मोटो छ भनेर नजिस्क्याउनु होला । श्रीमानलाई मोटे भनेर जिस्क्याउने वा गाली गर्ने बानी छ भने बेलैमा सुधार्नु होला नत्र तपाइको यस्तो बानीले परिवार टुट्न सक्छ, सम्बन्ध बिच्छेद हुन् सक्छ । भारतमा आफ्नो मोटो श्रीमानलाई मोटे, हात्ती वा मोटोपन बुझाउने गाली गरेका कारण अदालतले श्रीमान् र श्रीमतिबीचको सम्बन्ध बिच्छेद गर्न अनुमति दिएको छ । भारतमा मोटोपनको विषयमा श्रीमानलाई जिस्क्याउनुलाई सम्बन्ध विच्छेदको कानुनी आधार मान्न थालिएको छ । भारतको दिल्ली उच्च अदालतले श्रीमानलाई मोटो हात्ती भन्नु सम्बन्ध विच्छेदको आधार बन्ने फैसला सुनाएको छ ।
अदालतले सन् २०१२ मा तल्लो अदालतले गरेको फैसला सदर गरेको हो, जसमा मोटोपनको विषयमा श्रीमानलाई जिस्क्याउनु वा तनाव दिनुलाई मानसिक यातना भन्दै सम्बन्ध विच्छेदको अनुमति दिएको थियो । ३५ वर्षका ती व्यक्तिको तौल एक सय किलो छ । भारतीय सञ्चार माध्यमका अनुसार ती व्यक्तिले आफूलाई श्रीमतीले तौल तथा आफ्नो शारीरिक इच्छा पूरा नगरेको भन्दै दिनहुँ तनाव दिने गरेको बताएका थिए ।
इन्डिया टुडेले न्यायाधीश विपिन संघीलाई उत्दृतगर्दै विभिन्न नामले श्रीमानलाई गिज्याउनु, हात्ती, मोटो हात्ती भन्नुले उनीहरुको आत्मसम्मानलाई ठेश पुर्याउने भएकाले यो मजाक वा प्रेमका कारण भनिएको भन्नु स्वाभाविक नहुने उल्लेख गरेको छ ।
तर ती व्यक्तिकी श्रीमतीले भने अदालतको तर्क अस्पष्ट र असामान्य भएको आरोप लगाएकी थिइन् । अदालतले उनको तर्क खारेज गरेको छ । – एजेन्सी