आज लोकतन्त्र दिवस
काठमाडौ, ११ बैशाख । आज वैशाख ११ गते अर्थात दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन । आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको आज १० वर्ष पूरा भएको छ ।
विसं २०६२ र ६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सम्पन्न भएका कारण उक्त दिनलाई लोकतन्त्र दिवसका रुपमा लिइएको छ । नेपालमा दश वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२०६२/६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो ।
जन आन्दोलनको समयमा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् । मुख्यकाम संविधान निर्माण र शान्ति प्रक्रिया पुरा भइसकेको छ ।