अब बारीको पालमा हैन, सिंहदरबारमै सुत्छौं : भूकम्पपीडित

२०७३ बैशाख १३ गते, सोमबार

काठमाडौ, १३ बैशाख । ‘सरकारले सहजरुपमा भूकम्पपीडितको बस्ने, खाने र लाउने माग पूरा गरोस्। हैन भने सारा भूकम्पपीडितलाई डोजर लगाएर पेलेर मार्ने आँट गर्न सक्नुपर्छ,’गत वर्ष वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाका केशव गजुरेलको आक्रोश हो यो।
सरकारले भूकम्पपीडितको आधारभूत आवश्यकता पनि पूरा नगरेको भन्दै उनी आक्रोशित बनेका हुन्। आइतबार राजधानीको अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलन गरी भूकम्प प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकारको आश्वसनले मात्र पेट नभरिने भन्दै सरकारको आलोचना गरे।
‘लाखौं भूकम्पपीडित नेपाली बारीमा पाल हालेर सुत्न बाध्य छन्। हावाहुरीले उडाएर जस्तापाता कहाँ पुर्यायो तर सरकार बेखबर छ,’ उनले थपे।
अहिले भूकम्पपीडित बारीमा माटोका डल्लामाथि सुतिरहेको उनले बताए। ‘हाम्रा माग पूरा नभएसम्म माटो र ढुंगाको डल्लामाथि सुत्नुभन्दा सिंहदरबारको बीचमा सुत्दा राम्रो हुन्छ,’ उनले भने।
एक वर्षसम्म पनि भूकम्पपीडितका आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै प्रभावित जिल्लाका पीडितले संगठित भएर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
पीडितहरुले काठमाडौंका भूकम्पपीडित प्रदीपप्रसाद गौतमको संयोजकत्वमा संघर्षसमिति पनि गठन गरिसकेका छन्। -कारोबार दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]