५० लाखको लोभमा फस्दा …

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौ, १७ बैशाख । मधेस आन्दोलनलाई उत्कर्षमा पुर्या्उन सहिद भएमा उसका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेर मधेसी नेताहरुले सर्वसाधारण लोभ्याए । संविधान जारी हुनुअघिदेखि नै शुरु भएको आन्दोलनमा त्यही लोभमा सयौं सर्वसाधारण आफ्नो ज्यानको बाजी थापेर सडकमा ओर्लिए । तर आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारको अहिले बिचल्ली हुन् पुगेको छ । वीरगन्ज नगवाका सोहन प्रसाद कलवार मधेस आन्दोलनमै सहिद भए । बिपन्न परिवारकी उनकी आमा शोसिला देवीको अहिले बिचल्ली भएको छ । एक हप्ता अगाडि आएको हावाहुरीले घरको छाना उडाएपछि उनीमाथि झन् विपत्ती थपिएको छ । सँगै जीवन बिताउने सात फेरामा प्रतिज्ञा गरेका श्रीमान ८ बर्ष पहिला नै छाडेर परलोक गए । छोराको कर्मठताले आफुलाई सन्तोष बनाएको भए पनि छोरासमेत सहिद भएपछि उनी असहाय भएकी छन् । अहिले उनी बुहारीसँग बस्दै आएकी छन् । बुहारीले चलाउँदै आएको चिया पसलले अहिले उनले गुजारा चलाईरहेकी छन् ।
मधेस आन्दोलनमा प्रहरीको गोलीबाट सोहनप्रसाद कलवारको मृत्युपछि जीवनमा दुखको पहाडनै थपिएको छ । त्यसपछि पनि आएको हावाहुरीले त घरबारबीहिन नै बनाएको छ । घरको अवस्थाको बारेमा स्थानीय सबै नेताहरुलाई हारगुहार गरे पनि कसैबाट कुनै सहयोग नभएको उनी गुनासो गर्छिन् ।
मधेस आन्दोलन सुरु हुनु भन्दा पहिला शहीद हुनेलाई ५० लाख दिने मधेशी नेताहरुले नै घोषणा गरे पनि अहिले शोसिला देवी जस्तै पीडितहरु मारमा परेका छन् । गरिबीको फाइदा उठाउँदै गाउँका सोझा साझा जनतालाई मधेसवादी नेताहरुले आन्दोलनमा होमे पनि आफ्नो स्वार्थ पूरा भएपछि फर्केर नहेर्ने शोसिला देवीजस्तै पीडितहरुको गुनासो छ । ५० लाख दिने चर्चा चले पनि शहिद परिवारको विचली देख्दा मधेसी दलले पुनः आन्दोलनको चेतावनी दिइरहनु उनीहरुकै लागि घाँडो सावित हुने देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]