ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ती

काठमाडौ, १७ बैशाख । नेपाल पत्रकार महासंघले ज्येष्ठ पत्रकारहरुलाइ सम्मान गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जेष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ गरेका हुन। सम्मानित १६ जना ज्येष्ठ पत्रकारलाई प्रति महिना एक हजारका दरले एक वर्षको सम्मानवृत्ति स्वरुप १२ हजार रुपैया र ज्येष्ठ पत्रकार परिचयपत्र प्रदान गरिएको थियो । ६५ वर्ष उमेर र ३० वर्षभन्दा बढी पत्रकारितामा योगदान दिएका अग्रज पत्रकारहरूको सम्मानमा महासंघले यसै वर्षदेखि सम्मान वृत्ति कार्यक्रम सुरु गरेको हो ।
पत्रकार महासंघले उल्लेखनिय कार्यक्रमको सुरुवात गरेको भन्दै सञ्चारमन्त्री राईले आगामी दिनमा सम्मानवृत्ति कार्यक्रममा सरकारले सहकार्य गरेर अगाडी बढ्ने बताए । कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्मान वृत्ति कार्यक्रम महासंघको आन्तरिक कोषबाट गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा सरकारको सहयोगको अपेक्षा रहेको बताए। अध्यक्ष बिष्टले महासंघले यसै वर्षदेखि पत्रकार सन्तती शैक्षिक वृत्ति, विपद् व्यवस्थापन उद्धार तथा राहत कोष र पत्रकार बीमा कार्यक्रम समेत सुरु गरेको जानकारी गराए ।
कार्यक्रममा महासंघ पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारहरुले तिरेको १ प्रतिशत सामाजिक सुरक्षा कर पत्रकारकै हितमा लगाउन सरकारलाई आग्रह गरे। महासचिब उजिर मगरले जेष्ठ पत्रकार सम्मान वृत्ति सुरुवात भएको बताउदै आगामी दिनमा यस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने बताए । सम्मानित जेष्ठ पत्रकार एवं महासंघका पूर्वउपसभापति देवेन्द्र गौतमले यस्तो अभियानमा सरकारको पनि ध्यान जानुपर्ने बताए । – पी.डी. शेर्पा