नगर सूचना केन्द्र स्थापना
काठमाडौं, २६ बैशाख । म्याग्दीको बेनी नगरपालिकाले तेस्रो स्थापना दिवसका अवसरमा नगर सूचना केन्द्र स्थापना गरेको छ । नगर क्षेत्रका सूचनालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरेको नगरपालिकाले जनाएको छ । बेनी नगरपालिका कार्यालय परिसरमै स्थापना गरिएको केन्द्रले सर्वसाधारणलाई आधुनिक सूचना प्रणालीसँग आबद्ध गर्दै नगरवासीमा समयमै सही सूचना प्रवाह गर्न सहयोग पुग्ने नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदी बताउछन ।
सूचना केन्द्रमार्फत सर्वसाधारणलाई नगरपालिकाका गतिविधि र सूचनासँगै अन्य बाह्य सूचनासमेत प्रवाह गरिने अधिकृत सुवेदीले बताए । केन्द्रको म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । हाल केन्द्रमा पत्रपत्रिका, सूचनामूलक पुस्तक, सन्दर्भ सामग्रीलगायत विभिन्न सूचनामूलक सामग्री राखिएको छ ।
केन्द्रले नगरवासीसँगै सरोकारवालालाई कार्यालयको कार्यक्रम र योजनाका बारेमा जानकारी लिन तथा सर्वसाधारणमा रहेका कठिनाइलाई समेत समाधान गर्न सहयोग पुग्ने नगरपालिकाका सूचना अधिकृत इन्जिनियर विमलरञ्जन केसीले बताए । केन्द्रमा नगरपालिकाका गतिविधिसँगै नगर क्षेत्रको भौगोलिक अवस्था, विकास निर्माणको गतिविधिसँगै धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वका स्थलबारेमा समेत विशेष जानकारी राख्ने तयारी गरिएको छ ।