अमेरिकी भिसाका लागि कागजी प्रक्रिया घटाइदै
काठमाडौ, ४ जेठ । अमेरिकी दूतावासले यही जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ । आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु नपर्ने र यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाईमा छाड्न लगाइने दूतावासले जनाएको छ ।
अबदेखि पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले राहदानी, पुराना राहदानी, कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो लगायतका कागजात साथमा लिनुपर्ने छ । पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरू मात्र ल्याउनु पर्नेछ : राहदानी, पुराना राहदानी, DS-160 कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो, I-20 (विद्यार्थी भिसा आवेदकका लागि), ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि), अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्दछ
अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका छन् । कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेको छ ।