२५ जना बिचौलिया प्रहरी कारबाहीमा

२०७३ जेष्ठ ११ गते, मंगलवार

काठमाडौँ, ११ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले एक सातामा २५ जना बिचौलियालाई नियन्त्रणमा लिई कारबाही गरेको छ । पछिल्लो पटक सोमबार मालपोत कार्यालय भरतपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय रघुनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
छिटो छरितो रुपमा काम गरिदिने भन्दै पटकपटक अनावश्यक रुपमा पैसा माग गरेको भन्दै सर्वसाधारणले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पौडेलले राप्ती नगरपालिका–१२ बस्ने वर्ष ३३ का हीराबहादुर श्रेष्ठसँग पहिलो पटक रु दुई हजार ५०० र दोस्रो पटक कर्मचारीलाई दिनुपर्छ भन्दै रु एक हजार ५०० माग गरेको र श्रेष्ठले भनेअनुसार पैसा नदिए पछि विभिन्न धाकधम्की दिइरहेको समयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पौडेल विगत लामो समयदेखि मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका थिए । उनलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने कार्यालयले जनाएको छ ।
प्रहरीले यसअघि बिचौलिया कार्यमा संलग्न रहेको आरोपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट पाँच जना कर्मचारीसहित २० जना र नारायणगढको पुलचोक बस स्टेसनबाट चार जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु