मुक्त हलिया परिवारको पुनःस्थापना

२०७३ जेष्ठ १९ गते, बुधबार

काठमाडौ, १९ जेठ । कञ्चनपुर जिल्लाको ३४५ मुक्त हलिया परिवारको पुनःस्थापन गरिएको छ । जिल्ला भूमि सुधार कार्यालयका अनुसार आव २०७०÷७१ मा मुक्त हलियाका २० परिवारको जग्गा खरिद, आव २०७१÷७२ मा १५ परिवारको जग्गा खरिद, १० परिवारको घर मर्मत र ६८ परिवारको घर निर्माण गरी पुनःस्थापना गरिएको थियो । यस्तै आव २०७२÷७३ मा ९० परिवारको जग्गा खरिद, ५० परिवारको घर मर्मत र ७० परिवारको घर निर्माण कार्य भइरहेको भूमि सुधार अधिकृत जानकी कार्कीले बताए ।
हालसम्म १२५ परिवारको जग्गा खरिद, १३० परिवारका लागि घर निर्माण र ८० परिवारको घर मर्मत गरिएको छ । घरजग्गा दुवै नभएका ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारका लागि जग्गा खरिद र जग्गा भएका तर घर नभएका ‘ख’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलियाका लागि घर निर्माण र ‘ग’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारको घर मर्मतको कार्य गरिएको छ ।
झलारीका १९ र ब्रह्मदेवका १४ मुक्त हलिया परिवारले भोगचलन गर्दै आएको एक कट्ठादेखि दुई कट्ठासम्मको ऐलानी र प्रति जग्गा नाप नक्सा गरी संयुक्त जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको कार्कीले बताउनुभयो । जिल्लामा लगतमा समावेश भई प्रमाणीकरणमा परेका तीन हजार ७३२ मुक्त हलिया परिवारमध्ये एक हजार ३३८ परिवारले परिचयपत्र पाएका छन् । परिचयपत्र पाएकामध्ये क श्रेणीका १९४, ख श्रेणीका ५५२, ग श्रेणीका ३८ र घ श्रेणीका ५५४ जना रहेका छन् । विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणासँगै पहिलो चरणमा छ जिल्लाबाट थालिएको पुनःस्थापनाको कार्य हाल १२ जिल्लामा पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु