गाउँ नै खाली गरेर यार्चागुम्बा खोज्न लेकतिर
काठमाडौँ, २१ जेठ । हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलनको समय शुरु भएपछि यार्चागुम्बा पाइने विभिन्न जिल्लाका बासिन्दा घरको काम थाँती राखेर लेकतिर लागेका छन् । शिक्षक, विद्यार्थीसमेत लेकतिर गएपछि विद्यालय बन्द भएका छन् । रुकुम जिल्ला आसपास र छिमेकी जिल्लाका मानिस केही डोल्पाको पाटनतिर लागेका छन् भने केही पूर्वी रुकुमको रन्मामैकोटको बुकी पाटन क्षेत्रतर्फ लागेका छन् । उता, दार्चुलका स्थानीय भने अपी नम्पा संरक्षण क्षेत्रका लेक लोलु, दुधिबन, सातगंगातिर गएका छन् । यस बर्ष यार्सा संकलनका लागि दार्चुलाका लेकतिर जेठ १ गतेबाट नै हेर्नको लागि प्रवेश खुला गरिएको हो भने डोल्पाका विभिन्न लेकमा जेठ १० गतेदेखि संकलन प्रवेशपत्र वितरण गरिएको हो । रुकुमका लेकहरुमा भने जेठ १६ गतेबाट सुरु भएको हो । वर्षभरिको कमाईको मुख्य स्रोत नै यार्चागुम्बा भएपछि स्थानीयबासिन्दा सबै लेकतिर जाने गरेका छन् ।