तृतीय पण्डित सम्मेलन जेठ २८ देखि
काठमाडौँ, २३ जेठ । राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा तृतीय राष्ट्रिय पण्डित सम्मेलन यही जेठ २८ र २९ गते पोखरामा हुने भएको छ । सम्मेलनका लागि पं ठाकुर बरालको संयोजकत्वमा स्थानीय सम्मेलन आयोजक समिति गठन गरिएको छ । यसअघि प्रथम सम्मेलन २०६९ चैत र द्वितीय सम्मेलन २०७१ भदौमा काठमाडौँमा भएको थियो ।
सम्मेलनले कर्मकाण्डको पद्धतिमा शुद्धता, निर्णयहरुमा एकरुपता, विसङ्गतिहरुको नियन्त्रण र धार्मिक जागरणमा जोड दिने निर्णयहरु गर्ने धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराईले बताए । ‘वयं राष्ट्रे जागृयाम पुरोहिताः’ अर्थात् हामी पण्डितहरु राष्ट्रका निम्ति जागा हौँ भन्ने श्लोक शुक्ल यजुर्वेदमा पाइन्छ । सत् र असत् छुट्याउन सक्ने विवेक भएकाहरुलाई नै पण्डित भनिन्छ । आचार्य, ब्राह्मण, उपाध्याय, पुरोहित, ज्योतिषी, धामीझाँक्री, आम्ची, बिजुवा, फेदाङ्मा, गुभाजु आदि पनि पण्डितकै श्रेणीमा पर्ने प्रा डा भट्टराईले उल्लेख गरे ।
पेसागत मर्यादा राख्दै समाज हितका लागि व्यावहारिक र प्रगतिशील ढङ्गले काम गर्न अग्रसर सबै पण्डितहरुलाई सम्मेलनमा सहभागी हुन धर्मसभाका सदस्य धर्मराज बरालले आग्रह गरे । सम्मेलनमा करिब ६००पण्डितको सहभागिता हुने जनाइएको छ ।