काबुलमा मारिएका नेपालीको शव ल्याउन पहल सुरु
काठमाडौ, ७ असार । परराष्ट्र मन्त्रालयले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोटमा परेर मृत्यु भएका १२ जना नेपालीको शव नेपाल ल्याउने प्रयास भइरहेको बताएको छ । परराष्ट्रले त्यहाँको सरकार र नेपाली प्रतिनिधिसँग सम्पर्क गरिरहेको जनाएको छ । परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले मन्त्रालयले सम्पर्क गरिसकेको पर्सीसम्ममा शव नेपाल ल्याउने प्रयास भइरहेको बताए । उनले मृतकहरुको शव यथाशीघ्र स्वदेश ल्याउन आवस्यक व्यवस्था मिलाउन पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूत तीर्थराज अर्याललाई काबुल पठाइएको पनि जानकारी दिए ।
काबुल बिस्फोटमा काठमाडौका चन्द्रबहादुर रानामगर, हरीब्हादुर क्षेत्री, लमजुङका अमृतबहादुर थापा, नुवाकोटका डम्बर बहादुर तामाङ ,मधुसुदन कोईराला, चितवनका कृष्णबहादुर ढुङगाना को मृत्यु भएको छ । स्याङजाका सुकबहादुर गुरुङ, बुटवलका जितेन्द्र थापा, काठमाडौका बीरबहादुर सुवेदी, नुवाकोटका लिलबहादुर गुरुङ, पर्वतका नविनबहादुर क्षेत्री,सुनसरीका अंकुर तामाङ्को पनि बिस्फोटको क्रममा मृत्यु भएको परराष्ट मन्त्रालयले जनाएको छ ।
आक्रमणमा मोरंगका प्रेमबहादुर क्षत्री,म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानवहादुर थापा, कृष्णकुमार देउजा, सुर्खेतका अमृत रोकाया क्षेत्री, नुवाकोटका च्याङबा तामाङ घाइते हुनु भएका छन ।