राष्ट्रिय परिचयपत्र एक वर्षभित्र

२०७३ असार २४ गते, शुक्रबार

काठमाडौँ, २४ असार । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले अबको एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्न तयारी सुरु गरिएको बताएको छ । परिचयपत्रका लागि फ्रान्सको मोर्फो कम्पनीको बोलपत्र स्वीकृत गरी सम्झौताका लागि पत्राचारसमेत भइसकेकाले यो काम अब अगाडि बढ्ने भएको हो । आठ वर्षअघि सरकारको २०६६/०६७ को नीति तथा कार्यक्रममा राष्ट्रिय परिचयपत्र लागू गर्ने कुरा आए पनि यो अगाडि बढ्न सकेको थिएन । केन्द्रका प्रवक्ता कृष्णबहादुर कटवालले अबको एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रणालीको स्थापना भई त्यसको छ महिनाभित्र एक लाख १७ हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताए । उनका अनुसार एक लाख १७ हजारमध्ये सात हजार सिंहदरबारभित्रका कार्यालयका कर्मचारीलाई वितरण गरिनेछ भने बाँकी एक लाख दस हजार परिचयपत्र निर्वाचन आयोगको तथ्याङ्कलाई हेरेर कुनै एक जिल्ला छनोट गरी वितरण गरिनेछ ।
नेपाली नागरिकताको प्रमाणपत्रका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷०६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (वायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो ।
नेपाली नागरिकताको प्रमाणपत्रका कमीकमजोरीलाई समेत यो परिचयपत्रले हटाउने विश्वास व्यक्त गर्दै कटवालले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका सबै नेपाली वा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने मापदण्ड पुगेका सबै नेपालीले यो राष्ट्रिय परिचयपत्र सजिलै प्राप्त गर्न सक्ने बताए ।
चिप्स र युनिक कोडसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका दसवटै आँैलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्केन जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन सावित हुने विश्वास केन्द्रले लिएको छ ।
त्यसैगरी यो परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्ने बताइएको छ । यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई एकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार