असम्बन्धित व्यक्तिलाई विदेश पठाउने युवक पक्राउ
काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का सांसदलगायत विभिन्न विशिष्ट व्यक्ति तथा सांसदको विदेश भ्रमणसम्बन्धी कार्यक्रममा अन्य असम्बन्धित व्यक्ति समावेश गरी विदेश पठाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिबाट आर्थिक लाभ लिएर सांसदको निजी सहयोगीको रुपमा कीर्ते कागजात तयार पारी युरोपका विभिन्न देशमा पठाउने कार्यमा संलग्न गोठाटार घर भई हाल शान्तिनगर बस्दै आएका ‘रोहित’ भन्ने दिनेश खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट रु ४२ लाख ५० हजार, दुई थान मोबाइल, विभिन्न बैंकको चेक, रसिद, परिचयपत्र र विभिन्न कीर्ते कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।
सन् २०१६ को जुन-जुलाईमा स्पेनमा आयोजना हुने भनिएका विभिन्न कार्यक्रम तथा गोष्ठीमा संसद् सदस्यका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागबाट जारी भएको प्रवेशाज्ञा खड्का समेतले अनुचित आर्थिक लाभ लिने उद्देश्यले असम्बन्धित व्यक्तिको समेत नाम कीर्ते गरी त्यस्ता व्यक्तिलाई विदेश पठाउने प्रयत्न गरेको खुल्न आएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिए ।
माओवादीका आठ सांसद्को नक्कली सहयोगी बनाएर असम्बन्धित आठ व्यक्तिलाई स्पेन पठाउन लागेको खुलासा भएपछि सो कार्यमा संलग्न भएको आरोपमा खड्कालाई पक्राउ गरिएको हो । सो कार्यमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
खड्कालाई सरकारी छाप दस्तखत कीर्ते मुद्धाअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ । खड्का जालसाजी, चेक अनादर मुद्दामा फरारको सूचीमा रहेको तथा वैदेशिक रोजगार ठगी मुद्दामा समेत अदालतबाट दुई वर्ष कैद र रू दुई लाख जरिवाना तोकी हालसम्म फरार रही आएकोसमेत अनुसन्धानको क्रममा खुलेको व्युरोले जनाएको छ ।