बस दुर्घटना , २० जनाको मृत्यु
काठमाडौ , १० भदौ । गौरबाट पोखराका लागि छुटेको ग१ख ३७०९ नम्बरको बस नारायणघाट मुग्लिन सडकखण्डमा दुर्घटना भएको छ । दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको बताइएको छ । भने अरु १७ जना घाइते भएका छन् । यद्यपि, यकिन र पूर्ण विवरण प्राप्त भएको छैन ।
केही यात्रुको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ । मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिए । उनका अनुसार बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस देखिएको हो ।
उद्धारको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली जुटेका छन् ।