२० वर्षभन्दा कम उमेरकाले बस चलाउन नपाउने
काठमाडौ, १४ भदौ । सरकारले कम उमेरका चालकका कारण सवारी दुर्घटना बढेको भन्दै उमेर तोक्ने तयारी गरेको छ । संसदको राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री विमलेन्द्र निधिले सरोकारवाला पक्षसँग छलफल गरी यात्रुबाहक गाडी चालकको उमेर तोक्ने बताए ।
सरकारले यात्रुबाहक बस चलाउन ’टीन एज’ का अर्थात २० वर्षभन्दा कम उमेरका चालकलाई बस चलाउन नदिने तयारी गरेको छ । उमेर तोक्ने काम केही जटिल भएपनि सरकारले त्यसको गृहकार्य अघि बढाउने उनको भनाई छ । यात्रुवाहक सवारी साधन, मालबाहक सवारी साधन र अन्य साधनका चालकको उमेर निर्धारण गर्ने गृहमन्त्री निधिले समितिमा जानकारी गराए ।
बैठकमा सांसद बिक्रमबहादुर थापाले सवारीसाधन अनुसार चालकको उमेर निर्धारण गर्न सरकारको ध्यानकर्षण गराएका थिए । यस्तै मन्त्री निधिले सिन्डिकेट अन्त्य गर्न समेत सरकार दृढतापूर्वक लागेको जानकारी दिए । उनले अहिलेसम्म भएका सवारी दुर्घटनाका बिषयमा समितिमा जानकारी गराएका थिए ।