आज तीज , हिन्दूनारीहरु ब्रत बसेर मनाउँदै
काठमाडौं, १९ भदौ । हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन व्रत बसेर मनाईदै छ । सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा पाइन्छ । हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, नुवाकोटको दुप्चेश्वर, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।
यस दिन शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ ।
आज हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताउनुभयो । दर्शनार्थीका लागि बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा आज नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । आज पुरुषलाई पशुपति मन्दिर दर्शनमा निषेध गरिएको छ । कोषले यस वर्ष सशुल्क दर्शन बन्द गरेकाले सबै भक्तजन लामबद्ध भइबसेका छन् । यसपटक प्रहरीबाहेक स्वयम्सेवक पनि परिचालन नगरिएको कोषले जनाएको छ । देशभरका शिवालयमा पनि बिहानैदेखि व्रतालु महिला पूजा एवम् दर्शनका लागि पुगेका छन् ।