महिला सङ्घको तेस्रो महाधिवेशन हुँदै

२०७३ भाद्र २७ गते, सोमबार

काठमाडौँ, २७ भदौ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ स्थापनाको ६९ वर्षे इतिहासमा यही भदौ २९ गतेदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । सङ्घको महाधिवेशन ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ ।
विसं २००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो । यसबाहेक अन्य कार्यसमिति पार्टीको समन्वयमा गठन भएका थिए ।
स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा अधिकारी, अम्बिका बस्नेत र हाल डा डीला सङ्ग्रौला सङ्घको अध्यक्ष हुनुहुन्छ ।
महाधिवेशनको तयारीस्वरुप सबै जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भई महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी अध्यक्ष डा डीला सङ्ग्रौलाले राससलाई जानकारी दिनुभयो ।
विसं २०६८ माघ २१ गते महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले गठन गरेको हालको ४५ सदस्यीय तदर्थ समितिका कसैले पनि तेस्रो महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा भाग लिन नपाउने निश्चित भएको छ । आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीय हुने अध्यक्ष सङ्ग्रौलाले बताउनुभयो ।
सङ्घको आगामी अध्यक्षको उम्मेदवारमा हालसम्म चित्रलेखा यादव, मीना पाण्डे, धना खतिवडा, रुक्मिणी कोइराला, अम्बिका बस्नेत, उमा रेग्मी, मञ्जु खाँणलगायत देखिनुभएको छ ।
शेरबहादुर देउवा पार्टी सभापति हुनुभएपछि विगत लामो समयदेखि हुन नसकेका भातृ संस्थाका महाधिवेशनहरु धमाधम हुन थालेका छन् । पार्टीका १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् ।
महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधिलाई खानबस्नको उचित व्यवस्थापन भइसकेको र निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने तयारी भएको केन्द्रीय सदस्य एवम् भोजन व्यवस्थापन समिति संयोजक प्रशिष महराले बताउनुभयो ।
भदौ २९ गते बिहान १० बजे शान्तिवाटिकाबाट विभिन्न झाँकी र ¥यालीसहित भृकुटीमण्डपमा आउने र १२ बजे नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घकी प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिनुभयो ।
पार्टीले महिला सङ्घको महाधिवेशन सम्पन्न गर्न विधानअनुसार केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिको सदस्यमा नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल रहनुभएको छ । – भीष्मराज ओझा/रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार