इमान्दार हुनु त यिनी जस्तो …

२०७३ भाद्र २८ गते, मंगलवार

काठमाडौं, २८ भदौ । स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गर्नुभएको छ । यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको झोला छोड्नुभएको थियो । तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि झोलामा राखिएकोमा झोला बसमा छोडिएपछि उहाँ र उहाँको परिवार चिन्तामा परेको थियो । अधिकारी परिवारले सुनको माया मारिसके पनि बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारेपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगेर आफूले फेला पारेको झोला बुझाउनुभएको थियो । झोला हराएपछि अधिकारी परिवारको पहिलो सम्पर्क एउटा बसका चालक थलबहादुर बरुवालसँग भयो । बरुवालले अधिकारी परिवारको गुनासो समितिमा सुनाउँदा सहचालक क्षेत्रीले झोला समितिमा बुझाइसक्नुभएको थियो ।
समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन सूचना गरेपछि आएका अधिकारी परिवारलाई समितिले एक कार्यक्रमबीच सोमबार १० तोला सुनसहितको झोला हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा सहचालक क्षेत्रीलाई नगदसहित सम्मान गरियो । “म श्रम गरेर खान्छु, बेइमानी कहिल्यै पनि गर्दिन,” सामान बुझाउने क्रममा भावुक हुँदै सहचालक क्षेत्रीले भन्नुभयो, “फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु ।”
“बसका कर्मचारी इमान्दार हुन्छन् भन्ने प्रमाण चन्द्रले प्रमाणित गर्नुभएको छ,” पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख वसन्त बास्कोटाले भन्नुभयो, “उहाँबाट धेरैले पाठ सिक्नुपर्छ ।” हराएको सम्पत्ति पाउँदा निकै खुसी लागेको स्याङजाबाट सामान बुझ्न आएका केशरीका जेठाजु दयाराम पराजुलीले बताउनुभयो ।
“हामी निकै खुसी छौँ, बसमा हराएको सामान फेला पर्दैन होला भन्ने लागेको थियो तर फेला प¥यो,” पराजुलीले भन्नुभयो, “चन्द्र भाइ साह्रै इमान्दार कर्मचारी रहेछन् ।”
सामान फेला पार्ने क्षेत्रीलाई पाँच हजार रुपैयाँ नगद र समितिसम्म सम्पर्क गराइदिने बरुवाललाई तीन हजार रुपैयाँ नगदसहित सामान बुझ्ने क्रममा सम्मान गरिएको थियो । – वासुदेव पौडेल/रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार