महिलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ, ६ असोज । सामाजिक न्यायका लागि लैङ्गिक समानता कायम गरौँ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । व्यवस्थापिका संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने सम्मेलनमा ‘लैङ्गिक समानता तथा सामाजिक न्याय’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठले नेपालको संविधानमा महिला अधिकारका सम्बन्धमा व्यवस्था र यसको कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरिने बताए । सम्मेलनमा नेपाललगायत भुटान, म्यान्मा र डेनमार्कका सांसद, मन्त्री, महिला अधिकारकर्मीको सहभागिता हुने बतैएको छ ।
सभापति श्रेष्ठका अनुसार भुटानका १५ सांसदको प्रतिनिधित्व गर्दै निर्माण तथा मानवीय बस्ती मन्त्री ल्यान्पो दोर्जी छोडेन र म्यान्माका सांसद खिन स वाईको नेतृत्वमा १० सदस्यीय सांसद टोली काठमाडौँ आइसकेको छ । सम्मेलनमा नेपाल, भुटान, म्यान्मा र डेनमार्कमा राज्यको नेतृत्व तहमा महिला सहभागिता र नेतृत्वको अवस्थाका विषयमा एकअर्का देशबीच अनुभव आदानप्रदान गरिनुका साथै नीति निर्माणमा योगदान पु¥याउनका लागि महिलाको अर्थपूर्ण सहभागिता कसरी गराउन सकिन्छ भन्ने विषयमा छलफल गरिने श्रेष्ठले वताए ।
सम्मेलनमा नेपालका तर्फबाट सांसद अष्टलक्ष्मी शाक्य, पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले नेपालमा महिला सहभागिता र अधिकारको आन्दोलनका विषयमा प्रस्तुति राख्ने बताइएको छ ।