तामाङ जातिको संंस्कृति संरक्षण गरिने
काठमाडौँ, ८ असोज । नयाँ शक्ति पार्टी नेपालको भ्रातृ सङ्गठन तामाङ राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाले शुक्रबार सुवास तामाङको संयोजकत्वमा १५१ सदस्यीय परिषद्को केन्द्रीय समिति गठन गरेको छ । देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी उक्त भेलाले अन्तरिम कार्यविधि अनुसार आठ जना सहसंयोजक चयन गरेको छ । भेलाले खड्कबहादुर जिम्मा, जोशीमाया तामाङ, राजीव लामा, पासाङनिमा तामाङ, मङ्गल तामाङ, भीमबहादुर तामाङ, निमा डिङ्डुङ र नवीन्द्र तामाङलाई चयन गरेको छ ।
परिषद् संयोजक सुवासले सङ्गठन सुदृढीकरण गरी सञ्जाललाई देशभर विस्तार गरेर छिट्टै महाधिवेशन गर्न आवश्यक वातावारण मिलाइने बताउनुभयो ।
उहाँले तामाङ जातिको वेशभूषा, संंस्कृति लोपोन्मुख बन्दै गएकाले त्यसको संरक्षणका लागि परिषद्ले सक्दो सहयोग गर्ने र समुदायको अधिकार स्थापित गराउन भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्र नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक लगायत स्थानमा तामाङ समुदायको बसोबास छ । विसं २०६८ को राष्ट्रिय जनगणनानुसार नेपालमा करिब छ प्रतिशत तामाङ जनसङ्ख्या छ । – रासस