वृद्धाश्रम निर्माण सम्पन्न
काठमाडौँ, १९ कात्तिक । नेपाल सरकारको रु ६३ लाख र अन्य स्थानीय, विभिन्न सङ्घसंस्थाको सहयोग र महायज्ञ सञ्चालन गर्दा सङ्कलित रकमसहित रु २२ लाख गरी जम्मा रु ८५ लाखको लागतमा कालीगण्डकीको राधा दामोदर आरोग्य आश्रम, साँखर, केलादीधाममा वृद्धाश्रम निर्माण गरिएको छ । दुईतले २० कोठाको सो वृद्धाश्रममा ५० जना जति वृद्धवृद्धा अट्ने क्षमता रहेको वृद्धाश्रमका सचिव लेखनाथ बस्ताकोटीले बताए । हाल यहाँ पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी र कास्कीका गरी ३५ जना वृद्धवृद्धा रहेका छन् । नेपालकै केन्द्रीय पीठ रहेकाले घरपरिवारबाट अपहेलित भएका, बेसहारा, आफन्त कोही नभएका वृद्धवृद्धा मात्र नभई भजनकीर्तनका लागि अन्य भक्तजन पनि वृद्धाश्रममा पहिलेदेखि नै बसोबास गर्दै आइरहेको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताए ।