आज छठ पर्व

२०७३ कार्तिक २१ गते, आईतवार

काठमाडौं, २१ कात्तिक । छठ पर्व, अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । चतुर्थीदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो जस्ता खाद्यान्न सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकामना पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्ने गर्दछन् । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाईसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लाग्ने गर्छ । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला हुने गर्दछन् । सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाइन्छ । कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आउने गर्छन् ।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम उत्तिकै छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदै छ । परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजाका लागि भक्तजन पुग्ने गर्छन् । मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ तराईका जिल्लाका साथै राजधानीमा समेत मनाईंदै छ । उता, झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदीमा घाट निमार्ण गरेर पूजाआज गरिँदैछ ।
यता, काठमाडौंमा भने गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्ने कार्यक्रम छ । रानीपाखरी भने गत वर्षको भूकम्पका कारण भत्किएकाले प्रभावित भएको छ । आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु