सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही
काठमाडौं, २५ कात्तिक । नगर प्रहरीले ललितपुर उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही तीव्र बनाएको छ । साउनयता चार महिनामा मात्रै सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने करिब चार सयलाई कारबाहीको दायरामा ल्याइएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । उनले भने , “हामीले नेपाल प्रहरीसँग मिलेर नगर क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिरहेका छौँ ।”
नगरपालिका अन्तर्गतको लगनखेल, कोपुण्डोल, नटोल, ज्वागल, सानेपा बागमती करिडोर लगायतका क्षेत्रलाई लक्षित गरेर अहिले कारबाही भइरहेको छ । उपमहानगरपालिकामा अहिले गाभिएका स्थानमा समेत अनुगमन र कारबाहीलाई तीव्र बनाउने नगर प्रहरीको योजना छ । उनि भन्छन “उपमहानगरपालिकाको ३० ओटा नै वडामा कारबाही गर्ने योजना छ ।”
स्थानीयवासी कतिपयले बुझेर त कतिले नबुझेर पनि सार्वजनिक स्थानमा फोहोर फाल्दै आएका छन् । सडकपेटी लगायतका सार्वजनिक स्थानमा फोहोर फाल्नु हुँदैन भन्ने जानकारी भएकालाई समेत फाल्दा कतिसम्म कारबाही हुन्छ भन्ने जानकारी हुँदैन । प्रमुख महर्जन भन्छन , “हामीले कारबाहीसँगै जनचेतना फैलाउने काम पनि थालेका छौँ ।” फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र स्वायत्त शासन ऐन, २०५५ को व्यवस्थाअनुसार सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कसुर अनुसारको कारबाही भइरहेको छ ।