चीनले नेपाललाई लक्षित गर्दै सुरु गर्यो कार्गो रेल
काठमाडौं, १६ मंसिर । व्यापार सहजीकरण र प्रवर्द्धनको उद्देश्यले निजी क्षेत्रको पहलमा चीनको दक्षिण व्यापारिक सहर गोन्जाओबाट बुधबार दक्षिण एसिया अन्तर्राष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा सुरु भएको छ । यो सेवाबाट चीनबाट आयात हुने सामान केरुङ हुँदै नेपालको राजधानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । चीनको दा सुन फा इन्टरनेशनल लजिस्टिक एवं थियान जी टिबेट कम्पनी र नेपालको सिनो नेपाल लजेस्टिक एन्ड ट्रान्सपोर्टेशन कम्पनीबीच भएको साझेदारी सम्झौता बमोजिम नेपाली व्यवसायीको सामान बोकेर २२ क्याबिनेट र कार्गो बक्ससहितको उक्त रेल ल्हासाका लागि छुटेको हो ।
उक्त रेलमा लोड गरिएका तयारी कपडा, विद्युतीय सामाग्री, फर्निचर लगायत करोडौं मूल्यका सामान केरुङ नाका हुँदै राजधानी भित्रने छ । व्यापारिक सामानमात्र बोक्ने उद्देश्यले दक्षिण एसियाली मुलुकहरुलाई केन्द्रीत गर्ने र समुद्रको बाटो हुने व्यापार कम गर्न भन्दै चीन र नेपालव् व्यवसायीको पहलमा उक्त सेवा संचालन भएको हो । – कान्तिपुर दैनिकबाट