दुव्र्यवहारदेखि हत्यासम्म गर्नेमा शिक्षित नै अगाडि
काठमाडौं, २ पुस । कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे । यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ । घटनामा संलग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ, लक्ष्मीको शव शिक्षण अस्पतालमा छ । आठ वर्षअघि ललितपुरमा यही प्रकृतिको घटना भएको थियो । ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो ।
यद्यपि, उनी बाँच्न सफल भइन् । पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्यो । राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरूमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ । शिक्षित भनिएकाहरू नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन ।
देश छुवाछुमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट बहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन् । – नयाँ पत्रिका दैनिकबाट