प्रहरी सक्रिय

२०७३ पुष ३ गते, आईतवार

काठमाडौँ, ३ पुस । राजधानीको बल्खु, कुलेश्वर, कालीमाटी, ताहचल र त्रिपुरेश्वरलगायत क्षेत्रमा चोरी, डकैती, लुटपाट, ठगी र लागूऔषध प्रयोग तथा कारोबार नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले अभियान सञ्चालन गरेको हप्ता दिनमा विभिन्न मन्दिरबाट चोरी भएका पुरातात्विक मूर्ति १२ थान, आठ किलो चरेस, विषाक्त मदिरा १८ हजार लिटर, गरगहना लुटेरा र साइकल चोरलाई नियन्त्रणमा लिएको छ । वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले सर्वसाधारणको गुनासोभन्दा पनि शङ्कास्पद व्यक्तिमाथि निगरानी, गल्ली तथा बस्तीहरू खानतलासी गर्नेक्रममा यस्ता अवैध कार्यमा संलग्न व्यक्ति रङ्गेहात पक्राउ परेको जानकारी दिनुभयो ।
कालीमाटी तरकारी बजारक्षेत्र आसपास लागूऔषध सेवन हुने गरेको सुराकीका आधारमा नियमित चेकजाँचका क्रममा प्रहरीले चरेस बनाउन प्रयोग हुने कच्चापदार्थ एक किलोसहित मकवानपुर टिस्टुङका सुजन तामाङलाई नियन्त्रणमा लिएको छ ।
उनको पक्राउसँगै चन्द्रागिरिस्थित तामाङको कोठामा छापा मार्दा थप सात किलो चरेस बनाउन तयार पारिएको कच्चापदार्थ बरामद भएको जानकारी वृत्त प्रमुख अधिकारीले दिनुभएको हो । उनको पक्राउसँगै कालीमाटी तरकारी बजार आसपासका क्षेत्रमा चरेस सेवन घटनामा कमी आएको प्रहरीको दाबी छ ।
त्यस्तै, कुलेश्वरका विभिन्न मन्दिरबाट मूर्ति चोरी गरी लुकिछिपी बस्दै आएका दोलखाकी कुमारी तामाङ १२ वटा मूर्तिसहित पक्राउ परेकी छन् । प्रहरीका अनुसार दिउँसो कुमार र राति कुमारी बताउने लामा तेस्रो लिङ्गी हुन् ।
विभिन्न मन्दिरबाट भगवान गणेश, नवदुर्गा, भगवती, काली, मनकामना र कुमारीको पुरातात्विक मूर्ति चोरी गरी बिक्री गर्न बोरामा राखेर राति कुलेश्वरस्थित कोठाबाट बाहिर निस्कदै गरेको अवस्थामा उनी पक्राउ परेकी हुन् ।
बल्खुस्थित सुकुम्बासी वस्तीमा सञ्चालित विषाक्त रसायन मिसाएर घरेलु मदिरा उत्पादन गर्ने २५ वटा कारखाना बन्द गरेको छ । सो क्षेत्रबाट १८ हजार लिटर मदिरासमेत प्रहरीले बरामद गरेको छ । सो क्षेत्रमा उत्पादित मदिराका कारण केही दिनअघि एक सर्वसाधारणको मृत्यु भएको थियो ।
राजधानीका विभिन्न स्थानको पार्किङमा राखेका साइकल चोरीमा संलग्न एक गिरोहलाई पनि प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ । पक्राउपर्नेहरू १० देखि १६ वर्ष उमेरका छन् । फुर्सदको समयमा डुल्दै हिँड्ने यो समूहले पार्किङ स्थलमा साइकल भेटाउनेबित्तिकै चोरेर भाग्ने गरेको थियो ।
समूहका सदस्यको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरूको साथबाट चोरीका साइकल पनि बरामद भएका छन् । वृत्तले अपराधविरुद्धको उक्त अभियानलाई झन् सशक्त र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु