शीतलहर र उच्च हिमपातले जनजीवन प्रभावित
काठमाडौं, २२ पुस । देशका कतिपय भागमा शीतलहर र उच्च हिमपातले जनजीवन प्रभावित बनेको छ । बिहान र बेलुकाको समयमा शीतलहर र चिसो कुहिरोका कारण धनुषा, बारा, पर्सा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुलीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । यी जिल्लामा चार दिनदेखि शीतलहर चलेको छ । चिसो बढेसँगै सडकमा चहल–पहल निकै घटेको छ । बाक्लो हुस्सुको कारण सडकमा दुर्घटनासमेत बढ्दै गएको प्रहरीले जनाएको छ । चिसोबाट विपन्न समुदाय बढी प्रभावित भएका छन् । चिसो छल्न सर्वसाधारण ठाउँठाउँमा आगो बालेर बस्न थालेका छन् । अत्याधिक चिसोकै कारण निमोनिया, दम, झाडापखाला लगायतका बिरामीको संख्या पनि निकै बढेको छ । अस्पतालहरुमा बिरामीको चाप बढेसँगै उपचारमा समस्या हुन थालेको छ ।
यसैगरी , तेह्रथुम र संखुवासभाको सीमावर्ती तीनजुरे मिल्के, जलजले क्षेत्रमा एक दशक यताकै उच्च हिमपात भएको छ । चौकी, मंगलबारे, गुफापोखरी, लामपोखरी, सुकेपोखरी, मिल्के क्षेत्रमा बिहीबार दिउँसोबाटै व्यापक हिमपात भइरहेको छ । गुफापोखरी क्षेत्रमा ४ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । यो वर्ष पहिलेभन्दा छिटो र झन्डै एक दशक यताकै बाक्लो हिमपात भएको गुफापोखरीको मकालु होटलका सञ्चालक हरिप्रसाद खनालले जानकारी दिए । यो वर्ष करिव १५ सय मिटर उचाईसम्म पनि हिमपात भएकाले जिल्लामा चिसो अत्यधिक बढेको छ । तेह्रथुमका लसुने, पिंगुवा, जिरीखिम्ती, सिमिनाक्सी डाँडा, तीनजुरे, पाथीभरा, घुर्मिसेलगायत तल्लो क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै संखुवासभाका मकालु, पावाखोला, हटिया, चेपुवा, नुनढाकी, जलजला, सभापोखरीलगायत गाविसमा भएको हिमपातले जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।