चितवन सुधार मार्गचित्र २०७३ घोषणा
काठमाडौं,५ फागुन । नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्गचित्र २०७३ घोषणा गरिएको छ । भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्गचित्र घोषणा गरेका हुन् । नेपालको ऐन कानुन, सरकारले जारी गरेका विभिन्न घोषणापत्रलाई आधार मानेर नेपाली नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले प्रजिअ भट्टकै योजनाअनुसार चितवन सुधार मार्गचित्र २०७३ घोषणा गरिएको हो । जसलाई सुशासन, विकास र प्रभावकारी सेवाका लागि चितवन सुधार मार्गचित्र २०७३ भनिएको छ । घोषणा गर्दै प्रजिअ भट्टले यसलाई अभियानकैरुपमा लिन आग्रह गरे ।
राजनीतिक दललगायत विभिन्न सरकारी गैरसरकारी निकायबीच सामूहिक प्रतिबद्धता, समन्वय गरी सेवा प्रवाह गर्ने, प्रभावकारी सेवाका लागि दबाब दिने, अनुगमन गर्ने निकायलाई प्रभावकारी बनाउने र सेवालाई निगरानी बढाउन आह्वान गर्ने उद्देश्यले चितवन मार्गचित्र २०७३ घोषणा गरिएको हो ।
जिल्लाको समग्रपक्षको सुधारका लागि सामूहिक प्रतिबद्धता आवश्यक भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । उनकाअनुसार चितवन मार्गचित्रमा सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको प्रयास गर्ने, विकास व्यवस्थापन, शान्ति–सुरक्षा, प्रत्येक कार्यालयको समग्र व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखिएको छ । यो अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण संयन्त्र गठन भएको छ । संयन्त्रमा राजनीतिक दलका प्रमुख सदस्य छन् ।
यस्तै, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत, उपभोक्ता अधिकार मञ्चका प्रमुख, पत्रकार महासंघ चितवनका अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रमुख सदस्यकोरुपमा रहनेछन् । – रासस