सबै सन्तान मानसिक रोगी

२०७३ चैत्र ११ गते, शुक्रबार

काठमाडौं, ११ चैत । घर वरिपरि दिशा र पिसाबको गन्ध, बाँसको भाटा बुनेर बनाएको ढोका, कोठाभित्र पसेपछि एकतिर तीनवटा ढुंगा गाडेर बनाएको चुल्हो, चुल्होको एकछेउमा भात पकाउने कसौंडी, सोही चुल्होको छेउमा दुईवटा खाट जोडेर बनाएको ओच्छ्यान । एक वर्षदेखि नधोएका ओढने ओछ्याउनेहरु असरल्ल छन् । त्रियुगा नगरपालिका–७ चुहाडेका जीतबहादुर दनुवार चार छोरासहित त्यही कोठामा रमाउन बानी परिसकेका छन । उनको जेठो छोरो २५ वर्षी भरत, माइलो २३ वर्षीय पर्वत, साइलो १९ वर्षीय जयराम र कान्छो १५ वर्षीय सिताराम छन् । उनका चारैजना छोराहरु मानसिक रोगबाट पीडित छन् । उनीहरुको न दिन हुन्छ न रात, दिन चर्या सधै यही कोठामा बित्ने गर्दछ ।
मानसिक रोगले पीडित भएपनि आर्थिक अभावमा जीतबहादुरका सबै सन्तानहरु वर्षौदेखि रोग पालेर एउटै कोठामा थुनिएर बस्न बाध्य छन् । एक वर्ष अघि पत्नीको पनि मृत्यु भएपछि चारैजनाको रेखदेख उनैले गर्दै आएका छन् । मानसिक रोगबाट पीडित चार सन्तानको बाबु जीतबहादुरको दिनचर्या छोराहरुको स्याहारसुसारमै बित्ने गरेको छ । मजदुरी गरेर परिवार पाल्ने उनले अहिले चार सन्तानको हेरचाहका लागि मजदुरी गर्न छाडेका छन् । पत्नीले पनि छाडेर गएपछि चार सन्तानको रेखदेख आफैंले गर्दै आएको बताउँदै आफ्नो र छोराहरुको जीवन कष्टकर रहेको उनले बताए ।
जेठो छोरो भरत चार वर्षको उमेरसम्म त ठिक थियो अरु जस्तै हाँस्ने खेल्ने र बोल्ने गर्थे, उनले भने । त्यसैगरी माइलो छोरो पर्वत पनि ७ वर्षसम्म ठिकै रहेको र स्कुल जाने आउने गर्थे, उनले भने । ‘जेठा र माइलाको उपचार गर्न मानसिक अस्पताल पाटनमा रहँदै गर्दा घरबाट खबर आयो, साइँलो र कान्छोलाई पनि दाईहरुको जस्तै लक्षण देखा प¥यो ।’ साईलो जयराम त झन अरु दाजुहरु भन्दा भिन्न किसिमको भएको स्मरण गर्दै उनले भने, ऊ चनाखो थियो पढ्न जान्थ्यो ।’ ४ कक्षासम्म पढेका साइँलालाई पनि दाजुहरुलाई जस्तै रोग लाग्यो, उनले भने । तर कान्छो छोरा सितारामलाई चाहिँ दाजुहरुको संगतले रोगी भएको उनको आँकलन छ ।
‘श्रीमति हुदाँ छोराहरुको हेरचाह गर्ने गरेको र आफू दिनभर मजदुरी गरेर बेलुका फर्कदा खाना बनेको हुन्थ्यो, उनले निन्याउरो भावमा भने । अहिले खाना बनाई दिने कोही पनि नभएको बताउँदै उनले भने, ‘कहिले काँही चार सन्तानलाई कोठामा थुनी राखेर काममा हिड्ने गरेको छु ।’
कमाई गरेर ल्याउने उमेरका छोराहरुलाई कोठामा थुनेर आफु काममा जानुपर्ने बाध्यता रहेको दनुवारले दुखेसो गरे । ‘दैवले पनि देखी सकेन, म जस्ता मजदुरी गरेर खानेलाई नै आपत पारिदियो, जीतबहादुरले भने, ‘कोठामा थुनेर हिंडेका दिन छोराहरु दिशा र पिसाबमा खेलिरहेका भेट्छु ।’ दिनभर दिशा पिसाबमा नांगै बस्ने हुदाँ चिसोका समयमा उनीहरुको स्वस्थ्यमा समेत असर पर्ने गरेको छ । सँधै रुघाखोकी र ज्वरोले सताइरहने उनले बताए । उनका अनुसार छोराहरु बिरामी परेपछि जितबहादुरले मानसिक अस्पताल पाटनलगायतका विभिन्न अस्पतालमा लगेर उपचार गराएको र भएको घरखेत सकिएको छ । आर्थिक अभावले नियमित औषधि सेवन तथा जाँच गराउन नसक्दा रोग निको नभएको उनको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु