जेब्रा क्रसिङमा सवारी साधन रोक्नैपर्ने
काठमाडौं, १५ वैशाख । ट्राफिक महाशाखाले जेब्रा क्रसिङमा सवारी साधन रोक्नैपर्ने नियम ल्याएको छ । उसले पैदल यात्रुलाई जेब्रा क्रसिङ र आकासे पुलबाट मात्र बाटो काट्न समेत आग्रह गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले सवारी चालकलाई जेब्रा क्रसिङ खाली भए पनि ३० सेकेन्ड सवारी रोकेरमात्र अघि बढ्न आग्रह गरे । उनले जेब्रा क्रसिङमा सवारी नरोक्ने चालकलाई कारवाही गर्ने चेतावनी दिए ।
यसैगरी आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाही गर्ने उनको भनाइ थियो । राजधानीमा सवारी साधनमा हर्न निषेध गरिएपछि ध्वनि प्रदूषणमा कमी आएको भन्दै ट्राफिक प्रहरीले त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।