आज अक्षय तृतीया
काठमाडौँ, १६ वैशाख । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया । आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाउने प्रचलन छ । आज गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । आज गरिएको कर्म फलदायी हुने विश्वासका साथ बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । यसै दिन त्रेता युगको सुरुवात भएकाले युगादी तिथिका रुपमा समेत मानिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नी र रेणुकाको सुपुत्रका रुपमा भएको मान्यता अनुरुप परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । आज जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गर्ने तथा घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ ।
यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको वैज्ञानिक महत्व समेत छ ।