माझीहरुको पुख्र्यौली पेशा संकटमा

२०७४ जेष्ठ ३१ गते, बुधबार

काठमाडौं, ३१ जेठ । तमोर नदीको किनारमा बस्दै आएका तेह्रथुम र पाँचथरका माझी समुदायको पुख्र्यौली पेशा संकटमा परेको छ । नदीमा पैदल यात्रीका लागि झोलुंगे पुल र सवारी साधन आवागमनका लागि पक्की पुल निर्माण भएपछि उनीहरूको डुंगा चलाउने व्यवसाय ठप्प भएको हो ।
यस्तै माझी समुदायको माछा मार्ने पेशा पनि संकटमा परेपछि जीविकोपार्जनका लागि समस्या हुन थालेको छ । खोलामा विद्युतीय करेन्ट तथा विषादीको प्रयोग गरी अरूले पनि माछा मार्दा नदीमा माछा नै पाउन छाडेको माझीहरु बताउँछन् । बाढी र पहिरोले पनि माछा मारिदिएकाले माछा पाउन छाडेको उनीहरुको भनाइ छ । तमोर नदी किनारमा रहेका तेह्रथुम र पाँचथरका माझीटार, स्याबरुम्बा, नक्कलेघाटलगायतका स्थानमा बसोबास गर्दै आएका माझीहरु विस्थापित हुन थालेका हुन् । पुख्र्यौली पेशा मासिएपछि माझीहरु पनि खेतीपाती, मजदुरी र परदेश तिर जान थालेका छन् । तमोर किनारमा तेह्रथुम र पाँचथरमा मात्रै गरी करिब तीन सय घरधुरी माझी समुदायको बसोबास छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु