पिपलको रुखले १३ जना बचायो

२०७४ श्रावण २९ गते, आईतवार

काठमाडौ, २९ साउन । माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् ।
त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए । समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’ बाढी पसेपछि उनको बस्ने बास छैन । माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन् । ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’ उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो । चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो ।
उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे । एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए । राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे । आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् । पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्‍याएका थिए । ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको ।’ अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्‍यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो । कतिले ज्यानको आस नै मारेका थिए । बाढीका कारण खाद्यान्न, लत्ता(कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने ।
प्रारम्भिक जानकारीअनुसार माडीमा करिब ३ सय घरमा क्षति पुगेको छ ।रातभर सबै जाग्राम बसे । पानीको सतह बढेपछि यताउता जान सकेनन् । पटक(पटक बाढीले सताएर त्रसित बनेकाहरू यसपटक पनि ठूलै क्षति हुने आकलन गर्दै थिए । शनिबार पनि पानी पर्ने संकेत देखिएपछि उनीहरू झन् अत्तालिएका थिए । मुख्य सडकको दुई वटा पक्की पुल नै भत्काएको छ । धोवाह, रतनी , अमिलिया, सिमरा, बनकठ्ठा, सेरुवा, लक्ष्मीनिया, ढिकुरपोखरी, भैरवपुरलगायत क्षेत्र बढी प्रभावित बनेको छ । मूल सडकको दुई वटा पुलसहित १० वटा पुल भत्काएको छ । १६ वटा माछापोखरीमा क्षति पुगेको छ । वसन्तपुरबाट पूर्वको टेलिफोन अवरुद्ध भएको छ ।
बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा लगिएको नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । ‘तत्कालका लागि राहत र उद्धारको काम गर्‍यौं’, उनले भने, ‘माडीलाई बाढीबाट जोगाउन पछि दीर्घकालीन योजना ल्याउँछौँ ।’ उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तैनाथ गरिएको छ भने चितवन राष्ट्रिय निकुञ्जको दुई वटा हात्ती तयारी अवस्थामा राखिएको छ । बाढीबाट प्रभावितलार्इृ सुरक्षित स्थानमा अस्थायी बसोवासको व्यवस्था गरिएको छ । जिल्लास्थित रेडक्रसले खाद्यान्नबाहेक सामग्री सहयोग गरेको छ । जिल्लाको विपद व्यवस्थापन समितिले तत्काल गर्न सकिने आधारभूत काम गरेको जनाएको छ ।
‘तत्कालका लागि उद्धारको काम गरियो, क्षति नहोस् भनेर रेस्क्यु टोली राखिएको छ’, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘बाढीले क्षति पुगेका स्थानमा तत्काल अस्थायी संरचना बनाएर व्यवस्थापन गर्ने कुरा भएको छ ।’ रिउ खोलाको सतह ५।१० मिटर पुगेको थियो । ३ मिटरभन्दा बढी भए खतराको संकेट मानिन्छ । माडीमा यसअघि ०३० सालमा यस्तै बाढी आएको थियो । त्यतिबेला करिब ४ सय घरधुरीलाई बर्दियामा पुनःस्थापन गएिको थियो । ०५० सालमा आएको बाढीले जनधनको क्षति गर्‍यो । त्यसपछि ०५६ र ०६७ मा ठूलो बाढी आयो । यसपटकको बाढी ०६७ पछिको ठूलो हो । बाढीका कारण माडीको जनजीवन प्रभावित भएको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]