बाढीप्रभावितलाई राहत वितरण
काठमाडौं, २ भदौ । बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर परिवार, पिपरा गाउँपालिका २, ३ र ४ का २५८ घर परिवार, मटिहानी गाउँपालिकाका २०० घर परिवार, जलेश्वर कारागारका ३८२ कैदी र जलेश्वर नगरपालिका–१० का १२५ घर परिवारलाई राहत वितरण गरिएको छ ।
उनीहरुलाई चिउरा, भुजा, चाउचाउ, दालमोठ, भुजिया, त्रिपाल र मेट्रेसलगायतका सामग्री विहीबार वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका प्रमुख एवं जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।
बाढीपीडितलाई नेपाल रेडक्रश सोसाइटी, एक्शन वर्क नेपाल, सेभ द चिल्ड्रेन, नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा राहत सामग्री वितरण गरेको प्रजिअ श्रेष्ठले बताए ।
यसैबीच, जिल्ला दैवी प्रकोप उद्धार समितिको जलेश्वरमा बसेको बैठकले राहतका लागि आएका खाद्यान्न सामग्री लोहारपट्टी, कोल्हुवाबगेया, गौशाला, सोनमा, सम्सी, भंगहा, पिपरा, बलवा, मटिहानीमा तत्काल वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले राहत सामग्री दाताले आफूखुशी वितरण नगरी जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी वितरण गर्ने निर्णय गरेको छ । जिल्लाको जंघा, रातु, अंकुशी, मरहा, विग्हीलगायतका नदीमा आएको बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएका छन् भने आठ हजार घर परिवार विस्थापित भएका छन् । त्यसैगरी, पाँचजनाको मृत्यु र एकजना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।