घरभित्र गोही पसेपछि…

२०७४ भाद्र २१ गते, बुधबार

काठमाण्डौ , २१ भदौ । चितवनको रत्ननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीलाई बुधबार राप्ती नदीमा छाडिएको छ । रत्ननगर नगरपालिका–१५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई बुधबार सौराहानजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनकाअनुसार घरको पिँढीमा मगर गोही सुतिरहेको देखेपछि स्थानीयवासीको आग्रहमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नियन्त्रणमा लिन खोज्दा घरभित्र पसेकाले बोराले आँखा छोपेर नियन्त्रणमा लिएका थिए ।
गोही ९० सेन्टिमिटर लामो तथा करिब २० किलोको रहेको निकुञ्जको अनुमान छ । बिहान उठ्नेबित्तिकै इन्दिरा न्यौपानेले ढोका खोल्दा पिँढीको खाटमुनि घुम्रिएर सुतिरहेको वस्तु देखिन् । त्यही खाटमाथि उनका ससुरा हरिदत्त न्यौपाने मस्त निन्द्रामा सुतिरहेका थिए । ‘लौ कुकुर पो आएर सुतेछ भनेर धपाउन खोज्दा स्वाँ… गरेर ठूलो मुख पार्‍यो र झम्ट्यो अनि साह्रै डर लाग्यो’–न्यौपानेले भनिन् । उनले यसअघि कहिल्यै गोही देखेकी थिइनन् । उनका श्रीमान् लोकनाथ न्यौपानेले प्रहरी र निकुञ्जलाई खबर गरेको रत्ननगर नगरपालिका–१५ का वडासदस्य रामकृष्ण खड्का बताए ।- रासस

प्रतिक्रियाहरु

[anycomment]