छठ पर्व अन्तर्गत आज खरना मनाईंदै
काठमाडौं, ८ कात्तिक । छठ पर्व अन्तर्गत आज खरना मनाइँदैछ । यस दिन गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।
छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अघ्र्य दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।
महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।